काठमाडौं । सार्वजनिक खरिद पुनरावलोकन समितिले खरिद प्रकृयाको आशयका सूचना प्रकाशित भईसकेका समेतको प्रकृया बदर गरि पुनमूल्यांकन गर्न आदेश दिएको छ ।
समितिले बोलपत्र प्रक्रियामा केहि निर्माण व्यवसायीले आर्थिक प्रस्ताव पेश गर्दा लागत अनुमान भन्दा धेरै कबोल गरेको र सो प्रस्ताव समेत समावेश गरी औसत अंक गणना गरेर खरिद प्रक्रिया अघि बढाउन खोजिएको भन्दै परेको उजुरीमा यस्तो आदेश दिएको हो ।
सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनपछिका टेन्डरमा यस्तो त्रुटि देखिएपछि खरिद पुनरावलोकन समितिमा उजुरी परेको थियो । उजुरीमाथि अध्ययन तथा दुवै पक्षका कागजात र कानुनी व्यवस्थाको विश्लेषणपछि समितिले बढी कबोल गरिएका प्रस्तावलाई औसत गणनामा समावेश गर्नु उचित नहुने ठहर गरेको छ।
समितिले बढी कबोल गरेको आर्थिक प्रस्ताव मूल्याङ्कन प्रक्रियाबाट हटाइ पनुमूल्याङ्कन गरी कानुनबमोजिम खरिद प्रक्रिया अघि बढाउन सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिएको छ ।