काठमाडौं । बाँके र बर्दियामा लामो समयदेखि अलपत्र रहेका तीन वटा पूर्वाधार आयोजनाको ठेक्का तोडिएको छ । निर्धारित समय र पटक–पटक म्याद थप गर्दा समेत निर्माण कार्य अघि बढ्न नसकेपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नेपालगञ्ज डिभिजनले रुग्ण अवस्थामा रहेका आयोजनाको ठेक्का तोडेको हो ।
ठेक्का तोडिएका आयोजनामा रत्न राजमार्गको जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना छन् ।
यीमध्ये सडक मर्मत गत वर्ष नै सम्पन्न गर्नुपर्ने थियो भने पुलको पहुँचमार्ग र सडक सुधार आयोजना आर्थिक वर्ष २०८१र८२ भित्र सम्पन्न गर्नुपर्ने समयसीमा थियो । पटक–पटक म्याद थप्दा पनि काम अघि नबढेपछि ठेक्का तोडिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रगतिको सम्भावना नरहेका देशभरका अन्य रुग्ण आयोजनाको ठेक्का पनि तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।