काठमाडौं । सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री फालेर फोहोर गर्नेविरुद्ध काठमाडौं महानगरपालिकाले कारबाही तीव्र पारेको छ । यसैक्रममा सडकमा माटो खसालेर सार्वजनिक स्थान फोहोर गरेको भन्दै महानगर प्रहरीले एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।
महानगरपालिकाको वडा नम्बर ३ स्थित थाई राजदूतावास अगाडि नयाँ घर निर्माण गर्ने क्रममा सडकमा जथाभाबी माटो खसालिएको थियो । निर्माणका क्रममा सार्वजनिक सडक फोहोर गर्नुका साथै वातावरण प्रदूषण गरेको भन्दै मनोज उप्रेतीलाई महानगर प्रहरी बलले ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
पछिल्लो समय सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री थुपार्ने र फोहोर गर्ने प्रवृत्ति बढ्दै गएपछि महानगरले यस्ता गतिविधि निरुत्साहित गर्न कारबाहीलाई कडाइ गर्दै आएको छ ।