काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागले २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । विभागको कुल खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको हो ।
विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार पहिलो त्रैमासिकमा ठूला सिँचाइ आयोजनाहरूको भौतिक प्रगति उत्साहजनक देखिएको छ । महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ । उक्त आयोजनामा ४३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।
त्यस्तै, बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टाले ८०.२ प्रतिशत र रानी जमरा कुलरियाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन् । यी चार आयोजनामा मात्रै १ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो ।
यसैगरी, प्रगन्ना–बड्कापथ आयोजनाले ८८.२ प्रतिशत तथा गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य हासिल गरेका छन् ।
महानिर्देशक रजौरियाले तयारी पूरा भएका आयोजनामा बजेट र काम दुवै अघि बढेको बताउँदै दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनाको प्रगतिसमेत तीव्र बनाउने विभागको प्राथमिकता रहेको जानकारी दिएका छन् ।