धादिङ। डाँडाको बस्ति गुर्धुम गाउँ । टाढाको बाटो, पानी लिनकै लागि घण्टौको यात्रा । मिर्मिरे उज्यालोमै खोला र साँझ घाम डुब्ने बेला गाउँकै आहालमा भेटिन्छन् गुर्धुमबासी । उनीहरु भन्छन्– ‘खोलाको पानी खान पनि चार घण्टा धाउनुपर्छ । खोला धमिलिएको दिन मन अमिलो बनाएर रित्तै फर्कनु पर्छ । पानी–पानी भन्दा भन्दै ज्यान जानी भो’ ।
धादिङको धुनिबेंशी नगरपालिका–७ गुर्धुमकी मैना तामाङ एकाबिहानै खोलामा भेटिइन् । खानेपानी लिन हरेक दिन खोलामा आइपुग्ने उनी बताउँछिन् । खोलाको पानी खान पनि घण्टौ हिड्नु पर्छ । उनले दुखेसो गर्दै भनिन्– ‘खोलाको पानी खानु पर्या छ । त्यहि पनि एक खेप पानी लिन चार घण्टा लाग्छ । बर्खा लाग्यो, कति पटक त खोलामा भल आएर रित्तै फर्केकी छु । दुई घण्टा हिंडेर पानी लिन आउँदा धमिलिएको खोला नसङ्लिएपछि रित्तै फर्किनु पर्दा साह्रै मन रुन्छ ।’
गुर्धुम गाउँ भिरालो जमिन भएको डाँडामा छ । खोलामा पानी लिन जाँदा बाटो सिधै ओरालो र पानी लिएर फर्किदा ठाडै उकालो पर्छ । मैना भन्छिन्– ‘भिरको बाटो एक गाग्री पानीले ज्यानै लिन्छ कि भन्ने डर लाग्छ । ठूलाठूला ढुंगा पल्टिन्छन् । भिरैभिरको बाटो जोखिम मोलेर पानी खाइरहेका छौं । ज्यान त जोगाउनै पर्यो । म त घुँडाको विरामी हो, फटाफट हिंड्न पनि सक्दिन । गाउँमै खानेपानी आए स्वर्ग नै हुन्थ्यो ।’
२०७२ साल बैशाख १२ गते आएको गोर्खा भूकम्पका कारण घर नजिकैको मूल सुकेको स्थानीयहरु बताउँछन् । त्यसपछि गुर्धुमबासीको दैनिकी पानी बोकेरै बितिरहेको ४९ वर्षीया रुपा तामाङको भनाई छ । उनले हरेक दिन चार घण्टा हिंडेर एक जर्किन पानी ल्याउँछिन् । खाना, खाजा, घाँस दाउरा र भकारोको काम सकेपछि फेरी साँझ गाईबस्तुलाई पानी ल्याउने समय हुन्छ ।
उनी भन्छिन्– ‘बिहानै उठेर खोली पुग्छु । अस्ति भर्खरै खोला धमिलो भएर रित्तै फर्किए । खानेपानीको असुविधाले न घाँस दाउरा गर्न भ्याइन्छ न मेलापात । एक पेट खान र एक सरो लगाउन पनि मुस्किल भएको छ । खानेपानी सहज भए हामी गुर्धुमबासीको त जीवन नै फेरिन्थ्यो ।’
गाईबस्तुलाई आहालको पानी
साँझ पर्नै लाग्दा गुर्धुमबासी गाउँकै आहालमा पानी भर्न आइपुग्छन् । ४२ वर्षीया गंगा तामाङ पनि धमिलो र फोहोर पानी गाग्रीमा भर्दै गरेकी भेटिइन् । गाउँमा न सडक सञ्जाल छ, न बिजुली बत्ती, न खानेपानी । उनी भन्छिन्– ‘कुलो भत्किएर बिजुली बत्ती आउँदैन । खोलाबाट तान्ने गरेको पानी पनि बत्ती नभएर रोकियो । बर्खाको बेला खोलामा पानी लिन जान साइत हेर्नुपर्छ । गाईबस्तुलाई यहि आहालको पानी खुवाउँछौं । हामी गुर्धुमबासीलाई पानीको ठूलो समस्या छ । स्वच्छ र सफा त परको कुरा धमिलै पानी पनि सहज भएन । हाम्रो दुस्ख कसले देख्ला ?’
लामो समय घण्टौ धाएर खोलाको पानी खाँदै आएका गुर्धुमबासीले केहि समय मोटर लगाएर गाउँमै पानी खाए । तर प्रति परिवार ८० लिटर मात्रै पाउँथे । त्यो पर्याप्त थिएन । अहिले बिजुली बत्ती बिग्रिएपछि उही पुरानै नियति दोहोरिएको छ । अहिले यहाँका स्थानीयहरु करिब चार घण्टाको बाटो हिंडेर एक गाग्री पानीको जोहो गर्छन् । त्रिभुवन राजपथ अन्तर्गत नौविसेबाट करिव ४ घण्टाको पैदल यात्रा पछि गुर्धुम गाउँ पुगिन्छ ।
आफ्ना माग लिएर नगरपालिका आउन र जान पनि उनीहरुलाई उस्तै समस्या छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपालले खाद्य अधिकारका लागि क्षमता अभिवृद्धि गर्दै सहजिकरण गरिरहेको छ । अहिले गुर्धुमबासीले आधारभूत आवश्यकता, खानेपानी, बिजुली बत्ती, सडक सञ्जाल, स्वास्थ्य, शिक्षा जस्ता कुराको नगरपालिकासमक्ष माग राखिरहेका छन् ।
एक वर्षभित्र घर–घरमा धारा र पानी पुर्याउँछौं : मेयर आचार्य
खानेपानीको समस्या भोगिरहेका गुर्धुमबासीलाई नगरपालिकाले पनि योजनाहरु अघि सारेको छ । ुएक घर एक धाराु कार्यक्रम मार्फत काम अघि बढेको धुनिबेंशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।
धुनिबेंशी नगरपालिकाको धेरै ठाउँमा अहिले खानेपानीको समस्या छ । मेयर आचार्यले भने– ‘खानेपानी र बिजुली बत्ती दुवै पुर्याएका थियौं । तर अहिले बिग्रेर गयो । बत्ती बनाउन हामीले नसक्ने, प्राधिकरणले नबनाइदिने । भन्यो हुन्न भन्दैन तर काम पनि गर्दै गर्दैन । लाइन विस्तार गर्नुपर्ने छ । तीन वर्षदेखि योजना स्वीकृत भएर बसे पनि काम भएको छैन ।’
ुयहाँ खानेपानीको चरम समस्या छ, समाधानका लागि काम गरिरहेका छौंं,ु मेयर आचार्यले भने, ‘अहिले हामी ुएक घर एक धाराु बनाउने गरी ट्याङ्की बनाइरहेका छौं । ४० लाखको काम सकिन लाग्यो । फेरी ७० लाख रकम थपी गुर्धुमलाई जोडेर बजेट विनियोजन गरिएको छ । अब एक वर्ष भित्रै 'एक घर एक धारा' कार्यक्रम मार्फत गुर्धुमबासीले घर आँगनमै खानेपानी खान पाउने छन् ।’ नयाँ पत्रिकाबाट