काठमाडौं। केन्द्रिय राजधानी काठमाडौंमै हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ। काठमाडौंको सोल्टीमोडस्थित टाचलमा गोल्यान समूहले लगभग ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो।
होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो। तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको कम्पनीले जनाएको छ। तर होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ।
१४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन्। यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्पा, स्विमिङ पुल लगायतका सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ।
होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ। व्यवसायिक गोल्यान समूहले सुरुवाती चरणमा होटल हायात प्लेस रहेको दुईवटा भवन रियलस्टेड (अपार्टमेन्ट) का लागि भनेर निर्माण गरेको थियो। तर, अपार्टमेन्ट बन्दा नबन्दै विश्वमा कोभिड–१९ को महामारी फैलिन पुग्यो।
यसले अपार्टमेन्ट व्यवसायमा समेत प्रभाव पर्न गयो र यस समूहले अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। सोही बमोजिम होटल हायात प्लेस काठमाडौं जन्मिएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए। साथै सोही समूहसँग चारवटा अपार्टमेन्ट समेत रहेको गोल्यानले जानकारी दिए।