नयाँदिल्ली । दीपावलीको रात भारतको मध्यप्रदेशमा दुई छुट्टाछुट्टै घरमा भीषण आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् ।
मध्यप्रदेशको कटनी जिल्लास्थित बरही कस्बामा आइतबार राति भाँडाकुँडा पसलबाट सुरु भएको आगो तीनतले आवासीय भवनमा फैलिँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको हो । मृतकमा दुई वृद्धवृद्धा, एक महिला र तीन बालबालिका छन् ।
त्यस्तै, सिवनी जिल्लाको छपारा नगरस्थित जैन मोहल्लामा सोमबार बिहान सुनचाँदी व्यवसायी कुन्दन सोनीको घरमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको ज्यान गएको छ । घटनाका बेला घरमा रहेका १० जनामध्ये चार जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।
दुवै घटनामा प्रहरी, दमकल र स्थानीयवासीले उद्धार गरेका थिए । आगलागीको कारण खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।