काठमाडौं । स्थानीय विवादका कारण लामो समयदेखि अवरुद्ध मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको धुरा बजारमा कालोपत्रेको काम सुरु भएको छ ।
मुआब्जा तथा क्षतिपूर्तिसम्बन्धी विवादका कारण सिन्धुली र मकवानपुरका विभिन्न स्थानमा रोकिएको निर्माण कार्य विवाद सहजीकरणपछि अघि बढाइएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।
उनका अनुसार धुरा बजारमा रातिको समयमा समेत कालोपत्रेको काम भइरहेको छ । सिन्धुलीको ढकालगाउँ र खट्टार बजारमा पनि एक महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित कालोपत्रे सुरु गर्ने तयारी छ ।
त्यस्तै, मकवानपुरको चौघडा क्षेत्रमा निर्माण कार्य जारी रहेको छ भने माझीखोला क्षेत्रको विवाद समाधानका लागि पहल भइरहेको मन्त्री लम्सालले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माण कार्य अघि बढाउन स्थानीयस्तरमा विवाद सहजीकरण गरिएको जानकारी दिँदै बाँकी काम सम्पन्न गर्न स्थानीयवासीको सकारात्मक सहयोगको अपेक्षा गरेका छन् ।