काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सञ्चालित ७२ वटा आयोजना समस्याग्रस्त रहेको पाइएको छ। विभागअन्तर्गतका कुल २ हजार ८०७ कार्यक्रमको समीक्षा गर्दा ती आयोजना समस्याग्रस्त रहेको भेटिएको हो।
शहरी विकास तथा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार समस्याग्रस्तमध्ये १० वटा आयोजना सम्पन्न भइसकेका छन् भने ४ वटाको ठेक्का अन्त्य गरिएको छ। त्यस्तै, ८ वटा आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
बाँकीमध्ये ३२ वटा आयोजनाको म्याद थप गरी सञ्चालनमा रहेका छन् भने १८ वटाको म्याद समाप्त भएको छ।
मंगलबार विभागमा आयोजित बैठकमा रुग्ण आयोजनाको अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। बैठकले निर्माण सम्भव नभएका आयोजनाको ठेक्का अन्त्य गरी त्यस्ता आयोजनालाई विभागको मातहतबाट हटाउने निर्णय गरेको मन्त्री लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।