ताप्लेजुङ । ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा) जाने पदमार्ग आसपासका सामुदायिक वन क्षेत्रमा दुई सातायता ५२ वटा घरटहरा निर्माण गरिएका छन्। वन क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना हटाउन डिभिजन वन कार्यालयले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन।
फुङ्लिङ नगरपालिका–१० स्थित मयामपातल र वडा नम्बर ११ स्थित सिम्भु सामुदायिक वनको जग्गा अतिक्रमण गरी ती संरचना बनाइएको हो। पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी व्यापार व्यवसाय सञ्चालन गर्न घरटहरा बनाइएको बताइएको छ।
डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख श्रीनारायण यादवले सम्बन्धित वन उपभोक्ता समितिलाई एक साताअघि नै संरचना हटाउन पत्राचार गरिएको बताए। उनका अनुसार वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्न मन्त्रिपरिषद्को स्वीकृति आवश्यक हुन्छ।
वन उपभोक्ता समितिका पदाधिकारीले संरचना हटाउने प्रतिबद्धता जनाए पनि निर्देशन कार्यान्वयन भएको छैन। यस क्षेत्रमा पहिलेदेखि रहेका संरचनाको वैधानिकता र व्यवस्थापनबारे समेत अध्ययन हुन बाँकी छ।