काठमाडौं । सरकारले देशभरका १०९ ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने भएको छ। दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयलाई प्राथमिकतामा राखेर आधुनिक भवन निर्माण तथा संरचना सुदृढीकरण गर्न लागिएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा यसका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पहिलो चरणमा ८९ विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।
योजनाअन्तर्गत प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था हुनेछ। सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना सुधारसँगै सिकाइ वातावरण सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिएको छ। विद्यार्थीको चाप बढी भएका विद्यालयबाट सुरु गरिएको यो योजनाले विद्यालयबीचको पूर्वाधार असमानता घटाउने अपेक्षा गरिएको छ।