वीरगञ्ज । वर्षायाममा डुबानको समस्या झेल्दै आएका वीरगञ्ज महानगरपालिकाका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानीको निकास खुलाइएको छ।
महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेपछि वडा नम्बर १७, २५ र २६ का सुगौली, अलौललगायत आसपासका बस्तीमा पानी निकास सहज भएको हो।
पानीको निकास अवरुद्ध हुँदा वर्षायाममा ती क्षेत्रका बस्ती तथा ठूलो भूभाग डुबानमा पर्दै आएका थिए। लामो समयसम्म पानी जम्दा स्थानीयको दैनिक आवतजावत प्रभावित हुनुका साथै खेतीपातीमा समेत क्षति हुँदै आएको थियो।
जलजमावका कारण बस्तीमा लामखुट्टेको प्रकोप बढ्नुका साथै दुर्गन्ध फैलिने र स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको स्थानीयको गुनासो थियो।
महानगरपालिकाले लामो समयदेखि अवरुद्ध रहेको निकास खुलाएर पानी सहज रूपमा बग्ने व्यवस्था मिलाएको जनाएको छ। निकास खुलेसँगै वर्षायाममा हुने डुबान र जलजमावको समस्या घट्ने स्थानीयले अपेक्षा गरेका छन्।