वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
पकहाँमैनपुर गाउँपालिका–२ मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको हो । सोमबार बिहान पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार आगोले जलेर बेहोस भएका बालकलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।