काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्याएर ठेक्काका आर्थिक प्रस्तावका कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा संलग्नता खुलेपछि उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार पक्राउ परेकाहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससँग सम्बन्धित कागजात परिवर्तन गरेको पाइएको छ ।
ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गरिएको भन्दै परेको उजुरीका आधारमा ब्युरोले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा तीन जनाको संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो । प्रहरी टोलीले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ । अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।