काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रणतर्फ ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि सरकारले ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख खर्च भएको छ । यो त्रैमासिक बजेटको २३।४ प्रतिशत हो ।
महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार यस अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गरिएको छ ।
केही आयोजनाले भने लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । चितवनको भरतपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले १६०.८ प्रतिशत प्रगति गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति गरेको छ । यस्तै, दाङको लमहीले ८६.५, कञ्चनपुरले ८२.५ र धनुषाको जनकपुरले ८२.३ प्रतिशत प्रगति हासिल गरेका छन् ।