काठमाडौं । बाढीका कारण क्षतिग्रस्त चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा थुप्रिएको गेग्रान तथा भग्नावशेष हटाउन ठेक्का आह्वान गरिएको छ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले विद्युत्गृहको मलबा सफाइका लागि दुई करोड ७४ लाख ७६ हजार रुपैयाँ लागत अनुमानसहित बोलपत्र आह्वान गरेको हो। उक्त रकम मूल्य अभिवृद्धि करबाहेकको हो।
बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण व्यवसायीले पाँच लाख ९० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। त्यस्तै, पछिल्लो १० वर्षभित्र कम्तीमा एक करोड १७ लाख २० हजार रुपैयाँ बराबरको समान प्रकृतिको काम गरेको अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ।
योग्य निर्माण व्यवसायीले कात्तिक १८ गतेसम्म कम्पनीको धुम्बाराहीस्थित कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्। सोही दिन दिउँसो साढे १२ बजे बोलपत्र खोलिनेछ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा क्षति पुगेपछि आपत्कालीन प्रक्रियाबाट सफाइको काम अघि बढाउन लागिएको कम्पनीले जनाएको छ।