काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको हो।
आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्दा प्रवेशतर्फ ६०० रुपैयाँ र बाहिरिने क्रममा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
सुरुवाती चरणमा नगद र क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणालीमार्फत स्वचालित रूपमा दस्तुर संकलन गर्ने तयारी छ।
सुरुङमार्गको दस्तुर सेवा प्रदायकका कर्मचारीमार्फत संकलन गरिनेछ। संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ भने यसको सञ्चालन तथा अनुगमन सडक बोर्ड र सडक विभागले गर्नेछन्।