काठमाडौं । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी र पूर्वाधार विकासमन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा सम्मेलन केन्द्र समितिलाई हस्तान्तरण गरिएको हो।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक कागजातसहित सिनियर डिभिजनल इन्जिनियर किर्तिकान्त साहले समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई संरचना हस्तान्तरण गरेका हुन्।
जिम्मेवारी ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सम्मेलन केन्द्रलाई पारदर्शी, व्यवस्थित र सेवाग्राहीमैत्री ढङ्गले सञ्चालन गर्ने बताए। उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सम्मेलन केन्द्रको प्रभावकारी व्यवस्थापनमा जोड दिने उनको प्रतिबद्धता छ।