तनहुँ । तनहुँमा सञ्चालित तथा निर्माणाधीन विभिन्न विकास आयोजनाले ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति पाएका छन्।
डिभिजन वन कार्यालयका अनुसार जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्टलगायत पूर्वाधार निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिइएको हो।
तीमध्ये तनहुँ जलविद्युत् आयोजनाले सबैभन्दा धेरै ४१७ दशमलव ३४ हेक्टर वन क्षेत्र प्रयोग गर्ने अनुमति पाएको छ। यस्तै, ४०० केभी विद्युत् प्रसारण लाइन आयोजनाले १४२ दशमलव ६६ हेक्टर र तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइनले ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्ने अनुमति पाएका छन्।
वन क्षेत्र प्रयोग गरेबापत सम्बन्धित आयोजनाले प्रचलित व्यवस्थाअनुसार राजस्व बुझाउने, जग्गा सट्टाभर्ना गर्ने तथा क्षतिपूर्तिस्वरूप वृक्षरोपण गर्नुपर्ने व्यवस्था छ। केही आयोजनामा वृक्षरोपण तथा रुख कटानको प्रक्रिया जारी रहेको डिभिजन वन कार्यालयले जनाएको छ।