काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ । यात्रुको माग बढेसँगै कम्पनीले यो रुटमा फेरि नियमित उडान सुरु गर्न लागेको हो ।
बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगञ्ज–पोखरा रुटमा यात्रुको माग पुनः बढेकाले उडान सञ्चालन गर्ने निर्णय गरिएको हो । कम्पनीले गत जेठ ५ गतेदेखि यो सेवा स्थगित गरेको थियो ।
शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधै जोड्ने यो उडान धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण छ । यसअघि भारतीय धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ्नुका कारण उडान रोक्नुपरेको थियो। अहिले भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै पुनः सेवा सञ्चालन गर्न लागिएको उनले बताए ।
बुद्ध एयरले नेपालगञ्ज–पोखरा रुटमा आइतबार, बुधबार र शुक्रबार सातामा तीन दिन उडान गर्ने तालिका तय गरेको छ । कम्पनीले यस रुटका लागि टिकट बुकिङ पनि खुला गरिसकेको जनाएको छ ।
बुद्ध एयरले पहिलोपटक २०७८ साउन १७ गते सातामा तीन दिन यो सेवा सुरु गरेको थियो । उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो सेवा पश्चिम नेपाल र भारतीय पर्यटकलाई पोखरासँग सिधै जोड्ने भएकाले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने बताए ।
उनका अनुसार उडान सञ्चालन भएपछि नेपाली यात्रुलाई पनि पोखरा, मुस्ताङ, बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिक गन्तव्यमा पुग्न थप सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका यात्रुलाई पनि पोखरा पुग्न सहज हुने अपेक्षा गरिएको छ ।