काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् ।
बुधबार महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै उनले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको दूरी तथा यात्रा समय घटाउनुका साथै आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने बताए ।
करिब ७३ किलोमिटर लामो द्रुतमार्ग सञ्चालनमा आएपछि इन्धन खपत, सवारी सञ्चालन तथा मर्मतसम्भार खर्चसमेत घट्ने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा पनि आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले जटिल भौगोलिक अवस्था र चुनौतीका बीच नेपाली सेनाले निर्माणमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । साथै निर्माणमा संलग्न सबै पक्षलाई प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे ।