म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदीमा आएको बाढीपहिरोले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्याएको हो ।
बाढीपहिरोका कारण ६ मेगावाटको रेलेखोला र १४ मेगावाटको घारखोला आयोजना बन्द भएका छन् । घारखोलाको विद्युत्गृह पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको थियो ।
त्यस्तै, २२० केभी कालीगण्डकी करिडोरको दाना–खुर्कोट प्रसारण लाइनका तीन टावर बगिएका छन् । अस्थायी टावर निर्माण गरी असोज ३१ देखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ ।
बाढीले १८० मेगावाटको कालीगण्डकी गर्ज र ६६।३ मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण पनि डेढ महिनादेखि प्रभावित भएको छ । ४० मेगावाटको राहुघाट आयोजनाको परीक्षण उत्पादनसमेत लम्बिएको छ । निर्माण सामग्री ढुवानी र पहुँचमार्ग अवरुद्ध हुँदा अन्य आयोजनाको काम पनि सुस्त बनेको छ ।