काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले विभिन्न जिल्लामा सञ्चालन हुने साना तथा ठूला आयोजनाको ठेक्का प्रक्रिया अघि बढाएको हो।
कुल १७ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएका ती आयोजनामार्फत १३ लाख ७२ हजार नागरिकलाई आगामी ३० महिनाभित्र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानी आयोजनाका कुनै पनि ठेक्का लाग्न सकेका थिएनन्। तर, यस वर्ष खानेपानी सेवालाई प्राथमिकतामा राख्दै ४४ अर्ब रुपैयाँसम्मका आयोजनालाई खरिद प्रक्रियामा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले २०८७ सालसम्म सबै नागरिकको घरघरमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखेको छ। सोही लक्ष्यअनुसार यस वर्ष खानेपानी पूर्वाधार निर्माण तथा विस्तारका आयोजनालाई तीव्रता दिन लागिएको हो।