गण्डकी। ‘एक घर, एक धारा’ अभियानअन्तर्गत गण्डकी प्रदेशका ६६ प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ। प्रदेश सरकारका अनुसार हालसम्म साढे चार लाख घरधुरीमा निजी धारा पुगेको छ भने आगामी आर्थिक वर्षमा थप १५ हजार घरमा धारा विस्तार गर्ने लक्ष्य राखिएको छ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले आगामी आवका लागि यस अभियानमा रु १ अर्ब ७ करोड बजेट विनियोजन गरेको जनाएको छ। चालु आर्थिक वर्षमा २० हजार घरधुरीमा निजी धारा जडान गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयको भनाइ छ।
२०७८ सालको जनगणनामा प्रदेशका ५० प्रतिशत घरधुरीमा मात्र निजी धारा रहेकामा पछिल्ला वर्षहरूमा थप १६ प्रतिशत घरमा धारा विस्तार भएको हो। हाल प्रदेशका ९७ प्रतिशत घरधुरी आधारभूत खानेपानी सेवाको पहुँचमा पुगेका छन् भने तीन प्रतिशत घरधुरी अझै पनि त्यसबाट वञ्चित छन्।
भौगोलिक जटिलता, बजेटको सीमा र जनशक्ति अभावका कारण अभियान अपेक्षित गतिमा अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले भने खानेपानीको पहुँचसँगै यसको गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्दै कार्यक्रमलाई निरन्तरता दिएको छ।