काठमाडौं । रामेछापमा प्रस्तावित एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको पहलमा आयोजना योजनामा समावेश गरी अध्ययन, अनुसन्धान तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन बजेट छुट्याइएको हो।
आयोजनाबारे शुक्रबार भएको छलफलमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बजेट कार्यान्वयन गर्दै अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र सरोकारवालासँगको छलफललाई तीव्रता दिन आग्रह गरे।
प्रस्तावित आयोजना विद्युत् उत्पादनसँगै सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाका दृष्टिले महत्वपूर्ण मानिएको छ। आयोजना कार्यान्वयनमा आए रामेछापको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।