म्याग्दी । बाढीपहिरोले खानेपानीको पाइपलाइन क्षतिग्रस्त बनाएपछि म्याग्दीको बेनी बजारमा खानेपानीको अभाव भएको छ।
गत असोज दोस्रो साताको बाढीपहिरोले डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर पाइपलाइनमा क्षति पुर्याएको हो। त्यसपछि बजारमा आवश्यकताभन्दा निकै कम पानी आपूर्ति भइरहेको छ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्नेमा अहिले आठ लिटर मात्र आपूर्ति भइरहेको छ। यसबाट करिब २५ हजार जनसङ्ख्या प्रभावित भएको छ।
पानी आपूर्ति सहज बनाउन करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार भइरहेको छ। तिहारअघि राहुपारेबाट पानी ल्याउने तयारीसमेत गरिएको छ।
खानेपानी आयोजना पुनर्निर्माणका लागि तत्कालीन योजनामा १४ करोड ७० लाख र दीर्घकालीन योजनामा ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।