सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार गरिएको छ। यससँगै स्थानीय बासिन्दाले राष्ट्रिय प्रणालीबाट विद्युत् सेवा पाउन थालेका छन्।
यसअघि लघु जलविद्युत्मार्फत विद्युत् उपभोग गर्दै आएको क्षेत्रमा गाउँपालिका कार्यालय र हटियास्थित अस्पतालमा थ्रीफेज मिटर जडान गरी आपूर्ति सुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
प्रसारण लाइन विस्तारबाट सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल र घरेलु उद्योग लाभान्वित हुने अपेक्षा गरिएको छ। अब चीनसँग सीमा जोडिएको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा विद्युत् पुर्याउने लक्ष्य राखेको छ। जिल्लाका करिब ९५ प्रतिशत घरपरिवारले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्।