काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखास्थित चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण, बेलिब्रिज र पहुँच सडकमा क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको छ। टाइम्स इनर्जीले प्रवर्द्धन गरेको आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाउनुका साथै निर्माण उपकरणमा क्षति पुगेको छ।
त्यस्तै, २४।५ मेगावाटको दोभान खोला आयोजनाको क्याम्प र बेलिब्रिजमा क्षति पुगेको छ। ३०।९१ मेगावाटको यारु खोला आयोजनाको बेलिब्रिज, निर्माण सामग्री र उपकरणसमेत बगाएको छ।
१६ मेगावाटको माछा खोला आयोजनाको पहुँच सडक र पुलमा क्षति पुगेको छ। बाढीबाट भएको कुल आर्थिक क्षति र निर्माण कार्यमा परेको असरको विवरण भने आउन बाँकी छ।