काठमाडौं । भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज १५ देखि २६ गतेसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। मौसम प्रतिकूल भए निर्धारित कटौती नगरिने प्राधिकरणले जनाएको छ।
असोज १५ मा सतुंगल–बौथली, १६ मा मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ र २० मा मुलपानी, १८ मा गुर्जुधारा, २१ मा बलम्बु, २२ मा कोटेश्वर–बालकुमारी, २४ मा सिफल, २५ मा सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् कटौती हुनेछ।
प्राधिकरणले विद्युत् लाइन भूमिगत गरी वितरण प्रणालीलाई सुरक्षित, विश्वसनीय र क्रमशः स्वचालित बनाउने उद्देश्यले काम गरिरहेको जनाएको छ।