काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा पहिरो रोकथामका लागि भित्ता काट्ने तथा जोखिमयुक्त ढुङ्गा र माटो हटाउने काम सुरु गरिएको छ।
शनिबारदेखि नागढुङ्गा–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरी मर्मत तथा पहिरो पन्छाउने काम अघि बढाइएको हो।
घोप्टेभीरमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सवारी आवागमन रोकेर काम सुरु गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड -मलेखु–मुग्लिन) का रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिए।
उनका अनुसार सडक माथिबाट खस्न सक्ने जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने र पहिरो रोकथामका लागि भित्ता काट्ने काम भइरहेको छ। सडकलाई सुरक्षित बनाउने उद्देश्यले सवारी आवागमन रोकेर काम अघि बढाइएको हो।