काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोरुसिंगे–चन्द्रौटा सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका अनुसार करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा उक्त सडक विस्तारको सम्झौता गरिएको हो। सम्झौताअनुसार आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ।
कुल १९ दशमलव २ किलोमिटर लामो सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार गरिनेछ। आयोजनाअन्तर्गत दुई ठूला र ६ साना पुल, ७२ कल्भर्ट तथा पैदलयात्रीका लागि दुई अन्डरपास निर्माण हुनेछन्।
त्यस्तै, सवारीसाधनका लागि एउटा अन्डरपास र पैदलयात्रीका लागि एउटा आकाशे पुल पनि निर्माण गरिने मन्त्री लम्सालले जानकारी दिएका छन्। सडक विस्तारसँगै वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गरिनेछ।