बाँके । निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेका बाँके र बर्दियाका तीनवटा आयोजनाको ठेक्का सम्झौता तोडिएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जले रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजनाको ठेक्का रद्द गरेको हो ।
पटकपटक म्याद थप गर्दा पनि काम अघि नबढेपछि भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा ठेक्का तोडिएको कार्यालय प्रमुख नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । अब ती आयोजना नयाँ प्रक्रियाबाट अघि बढाइनेछ ।
यसैबीच, बर्दियाको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि एमआर एन्ड ग्रुपसँग ठेक्का सम्झौता भएको छ । ४२० मिटर लामो दुई लेनको पुल ६७ करोड ४५ लाख रुपैयाँ लागतमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ ।
यसअघि पप्पु कन्स्ट्रक्सनले बनाएको पुरानो पुल २०७२ सालको बाढीले भासिएको थियो । २०७९ को बाढीले थप क्षति पुर्याएपछि पुलबाट आवागमन पूर्ण रूपमा बन्द छ ।