काठमाडौं । झापाको कनकाई नदीमाथि निर्माण गरिएको पुल निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भई सञ्चालनमा आएको छ।
पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत पुल निर्माण समयअगावै सम्पन्न भएको जानकारी दिएका हुन्। शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका जोड्ने उक्त पुलको २०७९ पुस ११ गते ठेक्का सम्झौता भएको थियो।
सम्झौताअनुसार २०८३ असोज १० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयअघि नै काम सकिएको हो। हाल पुल पूर्ण रूपमा सञ्चालनमा आइसकेको मन्त्री लम्सालले उल्लेख गरेका छन्।
उनले कनकाई पुलको निर्माणलाई एउटा पूर्वाधार आयोजना समयमै सम्पन्न भएको उदाहरणका रूपमा प्रस्तुत गर्दै देशभरका विकास निर्माणका काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।