काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भएको छ।
भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार भारतीय रेल्वे मन्त्रालयले शनिबार नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको हो।
करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ। रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ। जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछन्।
मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्नेछ।
मन्त्रालयले माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यालाई जोड्ने यो सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।