काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकाका पाँच वडाका बासिन्दाले रेलमार्ग परिवर्तन हुने भएपछि जनप्रतिनिधिसहित राजनितिक व्यक्तित्वहरुलाई धन्यवाद दिएका छन् ।
बस्तीबाट रेलमार्ग जाने भयो भन्दै संघर्ष समिति नै गठन गरेर विरोध गर्दै आएका स्थानीयले बुधवार सभा आयोजना गरेर भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी र कांग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई उपस्थित गराइ धन्यवाद दिएका हुन् ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको रुट बरण्डाभार जंगल छिचोलेर पश्चिम लागेपछि भरतपुरका पाँच वडाहरू हुँदै नारायणी नदी तरेर नवलपुर निस्कने प्रस्ताव गरिएको थियो ।
प्रस्तावित रुटले भरतपुरका दुई हजार २५० घरधुरी प्रभावित हुने देखिएपछि स्थानीय विरोधमा उत्रिएका थिए । अहिले रेल विभागले नयाँ ढंगले अगाडि जाने भनेपछि धन्यवाद दिन सभा राखेको संघर्ष समितिले जनाएको छ ।
रेल विभागले साउन ११ गते भरतपुर महानगरपालिकालाई पत्र लेखेर चालु आर्थिक वर्षको बजेटमा ‘पूर्व–पश्चिम राजमार्गलाई आधार मानी स्ट्यान्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिने’ भनेर बुँदा नम्बर २७३ मा उल्लेख भएको जानकारी गराएको छ । त्यसअघि गत वर्षको भदौ ९ मा वैकल्पिक रेखाङ्कनको सम्भाव्यता अध्ययन गराई राय पेश गर्न भौतिक पूर्वाधार मन्त्रालयले निर्देशन दिएको थियो ।
भरतपुर महानगरपालिका क्षेत्रको रेखाङ्कन विवाद समाधान गर्नका लागि भनेर नै मन्त्रालयले रेल विभागलाई उक्त निर्देशन दिएको थियो ।