केरुङ–काठमाडौं अन्तर्देशीय रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन पूरा भएको छ। रेलमार्ग निर्माणको प्रारम्भिक लागत २ खर्ब ५७ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी कार्ययोजनाबारे छलफल गर्न पूर्वाधार मन्त्रालयका सचिव पद्मकुमार मैनाली नेतृत्वको टोली चीनको बेइजिङ पुगेको छ। बिहीबार हुने द्विपक्षीय बैठकमा चिनियाँ पक्षले अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीबारे छलफल हुने बताइएको छ।
चीनको केरुङबाट रसुवा र नुवाकोट हुँदै काठमाडौंको टोखासम्म प्रस्ताव गरिएको रेलमार्ग करिब ७२ किलोमिटर लामो हुनेछ। यसको करिब ९८ प्रतिशत खण्डमा सुरुङ र उच्च पुल निर्माण गर्नुपर्ने प्रारम्भिक अध्ययनमा उल्लेख छ।
डीपीआर तयार गर्न करिब दुई वर्ष लाग्ने अनुमान छ। भोटेकोशीमा आएको बाढीपछि प्राकृतिक जोखिम र सुरक्षाका विषयलाई समेत विस्तृत अध्ययनमा समेट्नुपर्ने देखिएको छ।