काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिम रेलमार्ग आयोजना निल्नु न ओकल्नु भएको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सबलीकरण समितिमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा भएको छलफलमा मन्त्री दाहालले बजेट अभावका कारण पूर्व पश्चिम विद्युतीय रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका हुन् ।
उनले पूर्व–पश्चिम रेलमार्ग नेपालको ‘ड्रिम’ भएकाले जसरी पनि सञ्चालन गर्नुपर्ने समेत बताए । मन्त्री दाहालले मुआब्जाको समस्याका कारण आयोजना अघि बढ्न नसकेको बताए ।
उनले भने, ‘पूर्व–पश्चिम रेलमार्ग हाम्रो ड्रिम नै हो। त्यो गर्नै पर्छ हामीहरूले। यो पूर्व–पश्चिम रेलमार्ग भन्ने बित्तिकै चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म मात्रै होइन। योचाहिँ के हो त भन्दा दक्षिणपूर्वी एसिया अथवा एसियासँगको कनेक्टिभिटीको कुरा हो । सबैभन्दा सस्तो यातायातको साधन भनेको पानीजहाज हो, त्यसपछाडि रेल नै हो। त्यसो हुँदाखेरि रेललाई हामीले कुनै न कुनै समयमा सञ्चालन गर्नै पर्छ र पूर्व–पश्चिम रेलमार्ग हामीले सञ्चालन गर्नै पर्छ। तर अहिले निल्नु न ओकल्नुको अवस्थामा पुग्यो ।’