काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर ६ गतेदेखि हुने भारत भ्रमणका क्रममा नेपाल–भारत सहयोगमा निर्माण भएका चार परियोजना दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ ।
भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या रेल सेवा, काभ्रेको पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, भैरहवाको एकीकृत भन्सार जाँच चौकी र लुम्बिनीस्थित बौद्ध विहार उद्घाटन गर्ने तयारी छ ।
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनका लागि हालै भारतीय प्राविधिक टोलीले रेलमार्गको परीक्षणसमेत गरेको छ । पहिलो चरणमा सातामा एक दिन दुवैतर्फ रेल सञ्चालन गर्ने योजना छ ।
पनौतीमा निर्माणाधीन प्रहरी प्रशिक्षण प्रतिष्ठानको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । भारतको १० अर्ब १ करोड रुपैयाँभन्दा बढी सहयोगमा प्रतिष्ठान निर्माण भइरहेको हो ।
त्यस्तै, भैरहवाको एकीकृत भन्सार जाँच चौकी निर्माण सम्पन्न हुने चरणमा छ भने भारतले लुम्बिनीमा निर्माण गरेको बौद्ध विहार पनि उद्घाटनको तयारीमा छ । यद्यपि, यी परियोजनाको उद्घाटन भ्रमणको अन्तिम एजेन्डामा टुंगो लाग्न बाँकी रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।