काठमाडौं । बाढीबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुलीस्थित बर्षेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुरु गरेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार उक्त खण्ड पुनःनिर्माणका लागि जाइकासँग २ अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको हो । कार्यालय प्रमुख सुमन योगेशले जाइकाले हालै निर्माण सुरु गरेको जानकारी दिए ।
यससँगै राजमार्गका अन्य तीन खण्डमा पनि पुनःनिर्माण भइरहेको छ । पिप्लेदेखि भकुण्डेबेँशीसम्मको सडकमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ ।
बाढीले २०८१ असोजमा रोशी खोलामा आएको बाढीका कारण दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो ।
हाल क्षतिग्रस्त सडक डेडिकेटेड डबल लेनमा पुनःनिर्माण भइरहेको छ । निर्माणाधीन तीन खण्डमा आगामी वर्षायामअघि एक तह कालोपत्रे गर्ने तयारी छ । कार्यालयका अनुसार पुनःनिर्माणको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ ।