बाजुरा । निर्माण सुरु नै नगरी वर्षौंदेखि अलपत्र रहेका बाजुराका दुई पुलको ठेक्का रद्द गरी नयाँ निर्माण प्रक्रिया अघि बढाइएको छ।
बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने बुढीगंगा नदीको मौरे पुल तथा मार्तडी–घट्मुना सडकखण्डको ठुलीसाँघु खोलामा निर्माण हुने पुलको ठेक्का रद्द गरिएको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार दुवै पुल निर्माणका लागि मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत नयाँ प्रक्रिया सुरु गरिएको छ।
२०७८ माघ ११ गते बिकोई बिल्डर्ससँग १६ करोड २१ लाख रुपैयाँभन्दा बढीमा सम्झौता भएको थियो। तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने दुवै पुलको काम निर्माण कम्पनीले सुरु नै नगरेपछि ठेक्का रद्द गरिएको हो।
पुल नहुँदा वर्षायाममा स्थानीय तहबीचको आवागमन अवरुद्ध हुने गरेको छ। मौरे पुल बनेपछि बुढीगंगा र त्रिवेणीसँगै बडीमालिका क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ। ठुलीसाँघु पुल नहुँदा गौमुल, बडीमालिका र खप्तड छेडेदहका बासिन्दाले समेत सास्ती खेप्दै आएका छन्।