काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन्। सिक्टा र बबई सिँचाइ आयोजनाले पछिल्लो समय थप १५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन्।
जलस्रोत तथा सिँचाइ विभागका अनुसार बाँकेको सिक्टा सिँचाइ आयोजनाले १०० हेक्टर र बर्दियाको बबई सिँचाइ आयोजनाले ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेका हुन्। दुवै आयोजनाले पुस मसान्तसम्म थप ३००–३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य राखेका छन्।
यता कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ। साउनमा ८ प्रतिशत रहेको प्रगति दुई महिनामा ७ प्रतिशत बिन्दुले बढेको हो। वित्तीय प्रगति पनि ५।२५ प्रतिशतबाट बढेर ११।४३ प्रतिशत पुगेको छ।
त्यस्तै, भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ३।४ प्रतिशत पुगेको छ। सुनकोशी मरिन आयोजनाले पनि पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ।