काठमाडौं । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पुलका बाँकी तीन स्प्यानमध्ये एउटाको स्ल्याब ढलान सम्पन्न भएको छ। बाँकी दुई स्प्यानको स्ल्याब ढलान पनि पाँच दिनभित्र सक्ने गरी काम भइरहेको छ।
मन्त्री लम्सालले बिहीबार राति सामाजिक सञ्जालमार्फत पुल निर्माणलाई तीव्रता दिइएको जानकारी दिएका हुन्। उनका अनुसार पुल निर्माणसँगै नदी नियन्त्रणका आवश्यक कामसमेत अघि बढाइएको छ।
१५ वर्षदेखि अलपत्र रहेको यो पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनु मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री लम्सालले बताएका छन्। पुल सञ्चालनमा आएपछि धनुषा र सिरहाबीचको आवागमन सहज हुनुका साथै हुलाकी सडकको यातायातसमेत व्यवस्थित हुने अपेक्षा गरिएको छ।