काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क संकलन गरिने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश र प्रस्थानका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।
जसअनुसार कार, भ्यान, पिकअपलगायत हलुका सवारीलाई काठमाडौं प्रवेश गर्दा ६५ र प्रस्थान गर्दा ६० रुपैयाँ शुल्क लाग्नेछ। मिनी बस तथा मिनी टिपरलाई क्रमशः ११५ र ८० रुपैयाँ, बस तथा सिंगल रियर एक्सल ट्रकलाई २६० र २०० रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै, मल्टी एक्सल ट्रक तथा भारी उपकरणलाई काठमाडौं प्रवेश गर्दा ६०० र प्रस्थान गर्दा २५० रुपैयाँ टोल शुल्क लाग्ने आयोजनाले जनाएको छ।