म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा पहिरोले क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न श्रमदानमा जुटेका छन्।
गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको पहिरोले पाउद्वारसहित आसपासका बस्तीको आवागमन र आधारभूत सेवा अवरुद्ध भएको थियो।
स्थानीयको श्रमदानबाट विद्युत् सेवा सञ्चालनमा आएको छ भने घार–पाउद्वार र पाउद्वार–खोपारा पदमार्ग पनि मर्मत गरी खुलाइएको छ। अहिले खानेपानी आपूर्ति सहज बनाउन काम भइरहेको छ।
पहिरोले गाउँ जोड्ने सडक क्षतिग्रस्त हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको छ। स्थानीयले सम्भव भएका काम आफैँ गर्दै आए पनि सुरक्षित आवागमन र दीर्घकालीन बसोबासका लागि सरकारी सहयोगको अपेक्षा गरेका छन्।