काठमाडौँ । सरकारले बाढीको पूर्व सूचना प्रणाली विस्तार गर्ने र हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ।
ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र विपद् जोखिम न्यूनीकरणसम्बन्धी दुई श्वेतपत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको हो।
ग्लोफ सञ्जीवनी आयोजनाअन्तर्गत मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानीको सतह घटाइनेछ। सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने प्रस्तावित आयोजनाको बजेट ४९।९ मिलियन अमेरिकी डलर छ।
त्यस्तै, ७।५४ मिलियन डलरको लागतमा छ नदी बेसिनमा बाढी पूर्व सूचना प्रणाली जडान भइरहेको छ। चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्व सूचना मोडल विकास गरिनेछ।
मौसम पूर्वानुमानलाई विश्वसनीय बनाउन कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ प्रयोग गर्ने, ५०३ म्यानुअल मौसम केन्द्रलाई स्वचालित बनाउने तथा काठमाडौँ उपत्यकामा एक्स–ब्यान्ड राडार जडान गर्ने योजना पनि सरकारले अघि सारेको छ।