बागलुङ। बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन्।
जिल्लाका कालीगण्डकी, दरमखोला, बडिगाडलगायत नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपमा उत्खनन गरी ओसारपसार गर्ने टिपर, ट्याक्टर, स्काभेटर, डोजर र जेसिबी कारबाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित स्थानीय तहमा पठाउने गरेको छ।
स्थानीय तहले दोहनबाट भएको क्षतिको आकलन गरी तोकिएको जरिवाना तथा राजस्व लिएर सवारीसाधन छाड्ने गरेका छन्।
आर्थिक वर्ष २०८०र८१ मा बागलुङ नगरपालिकामा सबैभन्दा बढी २१ वटा सवारीसाधन कारबाहीमा परेका थिए। त्यस्तै, ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चारवटा सवारीसाधन कारबाहीमा परेका थिए। यी तीन स्थानीय तहले कारबाहीबाट एक लाख ५७ हजार २८० रुपैयाँ राजस्व संकलन गरेका थिए।