काठमाडौँ। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ।
असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा क्षति पुगेको क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन कांग्रेसले मर्मतसम्भारको जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई दिएको छ।
सम्झौताअनुसार क्षतिग्रस्त क्षेत्रमा जमिन सम्याएर नयाँ दुबो रोप्ने तथा त्यसको स्याहार र सिँचाइ गरिनेछ। यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले बेहोर्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
पुनःस्थापनाका लागि ४५ दिनको समय तोकिएको छ। पहिलो १५ दिनमा दुबो रोप्ने र बाँकी ३० दिन त्यसलाई हुर्काएर हराभरा बनाइनेछ। काम सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्च हस्तान्तरण गरिनेछ।