सिरहा । लहान नगरपालिका–११ मा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको खुट्टीखोला सिँचाइ आयोजना पाँच वर्ष पुग्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। हेडवर्क्स र नहर निर्माण तथा सफाइमा खर्च भए पनि किसानका खेतमा पानी पुग्न सकेको छैन।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७७ मङ्सिर १७ गते ८ करोड ५६ लाख रुपैयाँभन्दा बढीमा हेडवर्क्स निर्माणको सम्झौता गरेको थियो। तर महालेखा परीक्षकको प्रतिवेदनले हेडवर्क्स खोलाको पानीको सतहभन्दा अग्लो स्थानमा निर्माण भएको भन्दै प्राविधिक प्रश्न उठाएको छ।
नहरमा माटो, फोहोर, ढल र अतिक्रमणका कारण पनि पानी प्रवाहमा समस्या देखिएको छ। सिँचाइ कार्यालयले संरचना सुधार तथा स्तरोन्नतिका लागि १२ करोड ४३ लाख रुपैयाँ माग गरेको छ। आयोजना सञ्चालन नहुँदा करिब ६०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य अधुरै छ।