चितवन । नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेपछि चितवनका उद्योगी व्यवसायीले रास्वपा सभापति रवि लामिछानेलाई नदी नियन्त्रणका लागि पहल गर्न आग्रह गरेका छन्।
उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन तथा तत्काल प्राविधिक अध्ययन गराउन माग गरेको हो।
व्यवसायीहरूले नदी कटान, हालको तटबन्धनको अवस्था र सम्भावित जोखिमबारे सम्बन्धित सरकारी निकायमार्फत प्राविधिक टोली खटाएर अध्ययन गर्न आग्रह गरेका छन्।
आफूहरूसँगको भेटमा लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी छिट्टै प्राविधिक टोली पठाएर अध्ययन तथा प्रभावकारी तटबन्धन निर्माणको काम अघि बढाउने प्रतिबद्धता जनाएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले जानकारी दिए।