काठमाडौं । केन्द्र सरकारबाट अहिलेसम्म एक मिटर पनि कालोपत्रे सडक नपाएको हुम्लामा ३९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिने भएको छ।
कर्णाली करिडोरअन्तर्गत उत्तर खण्डको हिल्सा–सिमिकोट सडक योजनामा पर्ने उक्त सडक निर्माणका लागि करिब २ अर्ब रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
सम्झौताअनुसार खार्पुनाथदेखि खरिखेतसम्म १८ दशमलव २ किलोमिटर र खरिखेतदेखि सलिसल्लासम्म २० दशमलव ८ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मन्त्री लम्सालका अनुसार गत कात्तिक १७ गते ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको थियो। उनले हुम्लाको सडक र विकासको सपनालाई सरकारले आफ्नो सपना मानेर आयोजना अघि बढाएको उल्लेख गरेका छन्। सडक स्तरोन्नति र कालोपत्रेले जिल्लाको सडक सञ्जालमा ठूलो परिवर्तन ल्याउने सरकारको अपेक्षा छ।